भगवान!! यो काठमाडौँ…
June 8, 2007
यो काठमाडौँ पनि अनौठो ठाँउ छ। एकतिर पजेरो चढ्ने मान्छेको ताँति, अर्को तिर २० रुपौँया-गोटा चप्पल बेचेर गुजारा गर्ने मान्छे। फलफुल बेच्ने बूढाबूढी र बच्चा-बच्ची च्यापेर फर्सीको मुन्टा बेच्ने आइमाईहरू अनि पत्रिका बेच्ने स-सना केटाकेटी। र छेवैमा बिदेशी ब्रेण्डका लुगा लाउने केटाकेटी।
धेरै पछि आज काठमाडौँको बजार घुमियो। वाक्क लाग्यो। हुन त पाँच लाख मान्छे अँटाउने शहरमा पच्चीस लाख मान्छे बसेपछि किन नहोस् त यस्तो। तर सायद यो पनि बाध्यता नै होला। मेरा बाबाले पच्चीस वर्ष पहिला जे सपना देखेर काठमाडौँ छिर्ने निर्णय गर्नुभयो, त्यस्तै सपना देखेर काठमाडौँ छिर्नेको ताँति छ। पढाई, जागिर र सुविधाहरू पनि झन्डै सबै काठमाडौँमै भएर पनि होला।
आज बजारमा एकजना बूढा मानिसले आरू ठेलामा बेच्दै थिए। “बिहान पाउको दसमा बेचेँ, अहिले किलोको दस,” जबरजस्ति हाँसेर उनी भन्दै थिए। हुन त हो पनि, कहाँदेखि ल्याएको त्यो आरू, फाल्न पनि पोश नआउने, फिर्ता लान पनि। बेच्ने मान्छे देख्दा पैँसठ्ठी वर्षका जस्ता देखिन्थे, मेरा घरका हजुरबुबा भन्दा बूढा। अनुहारमा चाउरी परेको थियो, बाजेका आँखा रसिला देखिन्थे। उनलाइ देखेर मलाई साह्रै बिरक्त लाग्यो। आमाले दुनिँयाका सबै मान्छेको माया गरेर साध्य हुँदैन भनेर भन्नु भयो, तर मैले सकिँन। जसलाई हेरे पनि म बिरक्तिन्थेँ, बिहान छ बजेदेखि बेलुका सातबजेसम्म साएकलो अथवा ठेला गुडाउँदै हिड्नुपर्ने, त्यहाँ माथि मान्छेको अपमान सहँदै।
कस्तो जिन्दगी यो, कसैलाई घर भाडामा लाएको पैसाले खान पुग्छ, कोहि अल्छि गरेर कामै गर्दैनन्, अनि कोहि जति गरेपनि जस्ताको त्यस्तै… सोसियोलोजि क्लासमा सरले सोधिरहनि प्रशनको याद आयो- मान्छे अल्छी भएर गरीब हुन्छन् कि मौका नपाएर?